दफा ५३८
करार रद्द वा बदर भएमा त्यसको परिणाम

(१) करार गर्ने कुनै पक्षले अर्को पक्षबाट करार बमोजिम केही नगद, जिन्सी वा सेवाका अन्य कुनै लाभ लिई सकेपछि वा करार बमोजिमका दायित्व आंशिक रूपमा पूरा गरी सकेपछि पक्षहरूको सहमतिबाट करार रद्द भई यस भाग वा अन्य कानून बमोजिम करार परिपालना गर्नु नपर्ने भएमा, कानून बमोजिम करार बदर भएमा वा बदर घोषित भएमा वा यस भाग बमोजिम करार अमान्य वा रद्द भएमा त्यसरी दिएको नगद, जिन्सी वा सेवा करार बहाल रहेको दिनसम्मको हिसाब मिलान गरी नगद, जिन्सी वा सेवा फिर्ता गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम नगद वा जिन्सी बाहेक अन्य कुनै सेवा वा लाभ दिएको भए त्यस्तो सेवा वा लाभ दिए वापत मनासिब रकम त्यस्तो सेवा वा लाभ लिने पक्षले अर्को पक्षलाई दिनु पर्नेछ ।
(३) उपदफा (१) बमोजिमको नगद, जिन्सी फिर्ता नगरेको वा रकम नदिएको कारणबाट कानूनी कारबाही अवलम्बन गर्नु पर्ने भएमा सो वापत लागेको मनासिब खर्च समेत भराई लिन सकिनेछ ।